महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएको छ भने उनीसँगै स्कुल जाँदै गरेका दुईजना बालबालिका घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गौशालाकाअनुसार ट्याक्टरले किचेर गौशाला–३ ईंटाटारकी आठ वर्षीया जोयाकुमारी महतोको मृत्यु भएको हो। उनीसँगै रहेका ६ वर्षीया हंसिकाकुमारी महतो र १२ वर्षीय सुरजकुमार महतो घाइते भएको हो।
घाइतेको हात र दाहिने खट्टामा चोट लागेको छ। घाइते बालबालिकाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर रानाकाअनुसार एउटै साइकलमा चढेर विद्यालयतर्फ जाने क्रममा उनीहरूलाई गौशाला नगरपालिकाको सुर्ती विकास चोकबाट ईंटाटारतर्फ जाँदै गरेको ज २ त २० नम्बरको ट्याक्टरले ठक्कर दिएको हो।
शुरुमा सामान्य घाइते बालिका जोयालाई चालकले ट्याक्टर ब्याक गरेर मारेको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि घटनास्थल केही समय तनावग्रस्त बनेको थियो।
दुर्घटनालगत्तै ट्याक्टर चालक प्रेमचन्द्र महतो केही बेर फरार भए पनि प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रानाले जानकारी दिए।रासस