धरानमा कार्यबाहक जिम्मेवारीमा विवाद मेयरको सचिवालयमा वडाध्यक्ष, अदालत जाने तयारीमा उपप्रमुख

रातो पाटीबाट साभार गरिएको।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ आश्विन ३०, बुधबार (६ दिन अघि)
  • ५९ पटक पढिएको

धरानमा कार्यबाहक जिम्मेवारीमा विवाद मेयरको सचिवालयमा वडाध्यक्ष, अदालत जाने तयारीमा उपप्रमुख

विराटनगर।मेयरले उपमेयरको साटो वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगपालिकामा विवाद सुरु भएको छ ।

भोलि बिहीबार बेलायत उड्ने तयारीमा रहेका मेयर हर्क साम्पाङले २३ असोजमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कनेछन् ।

साम्पाङले असोज २३ गते वडा अध्यक्षलाई पत्र पठाउँदै असोज २८ गतेबाट बेलायतबाट नफर्कुन्जेल ५ वटा शर्त राखेर अधिकार प्रत्यायोजन गरेका छन् ।
उपमेयर अइन्द्रबिक्रम बेघा पालिकामा हुँदाहुँदै वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि ६ दलले आपत्ति जनाएका छन् । पूर्व पालिका प्रमुख तिलक राईले पनि मेयर साम्पाङको शैलीको आलोचना गरेका छन् ।
कार्यवाहक पालिका प्रमुख पनि मेयरको कार्यकक्षमा प्रवेश गरेका छैनन् । मेयर साम्पाङको कार्यकक्षमा ताला लागेको छ । कार्यवाहक जिम्मेवारी पाएका फागो प्रमुखको सचिवालयको कुर्सीमा बसेका छन् ।
अदालत जाने तयारीमा उपप्रमुख

पालिका प्रमुख साम्पाङले व्यक्तिगत रिसिइबीका कारण कार्यवाहक नदिएको भन्दै उपप्रमुख अइन्द्रबिक्रम बेघा अदालत जाने तयारीमा छन् । ‘म कानुनी उपचारका लागि अदालत जान्छु,’ उनले भने ।
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) प्रमुखको काम कर्तब्य र अधिकारको १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने उल्लेख छ । उपाध्यक्ष वा उपप्रमुख उपप्रमुख उपस्थित नभएमा मात्रै कार्यपालिका सदस्यलाई कार्यवाहक दिन पाउने प्रावधान छ ।

गत २०८० भदौमा झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष कार्यलयमा हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उच्च अदालत विराटनगरले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

उपाध्यक्ष प्रमीला न्यौपानेले दायर गरेको रिटमा २०८० भदौ ५ गते उच्च अदालत अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । आदेशपछि उपाध्यक्ष न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् । त्यही नजिरमा टेकेर उपमेयर बेघा अदालत जान लागेका हुन ।

नेपाली कांग्रेसबाहेकका ६ राजनीतिक दलले पनि मेयर साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन् । एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष  सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष  ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षरसहित जारी भएको विज्ञप्तिमा मेयर साम्पाङले गलत कार्य गरेको दाबी गरेका छन् ।

६ दलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४  (क)१२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’

कार्यवाहक जिम्मेवारी पाएका वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका कारण कांग्रेसले भने प्रमुखको कदमको विरोध गरेको छैन ।

मेषर साम्पाङले भने आफूलाई सहज हुने व्यक्तिलाई जिम्मेवारी दिएको बताएका छन् । उनले यो विषयमा धेरै नबोल्ने समेत बताएका छन् ।  मेयर साम्पाङ र कार्यवाहक पाएका वडाध्यक्ष पारिवारिक नाता पर्छ ।

फागो, मेयर साम्पाङको मामाससुरा पर्छन् । तर कार्यवाहक प्रमुख  फागो भने नाताका आधारमा आफूलाई जिम्मेवारी नदिएको बताउँछन् । कार्यलयमा कहिले पनि नाता सम्बन्धको विषयमा कुरा नभएको भन्दै उनले भने, ‘उहाँले नाता परेर नाताकै हैसियतमा मलाई दिएको लाग्दैन, भरोसा लागेको विश्वासले दिएको होला ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस