काठमाडौं। नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर २ स्थित ड्रागन डेरीले धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको चिम्टेश्वर महादेव परिसरमा बृहत वनभोज कार्यक्रमको आयोजना गरेको छ। आउँदो पुस १३ गते शनिबार हुने यस कार्यक्रममा नुवाकोटका किसान, राजनीतिक दलका नेता, उद्योगी व्यवसायीहरुका साथै कलाकारहरु समेत गरेर २ सय हाराहारीको सहभागीता रहने ड्रागन डेरीले जनाएको छ ।
ड्रागन डेरीका सञ्चालक बालकृष्ण ढुंगाना ‘दिपक’का अनुसार, यो कार्यक्रमले चिम्टेश्वर क्षेत्रको महत्त्वलाई उजागर गर्दै पर्यटकीय आकर्षण बढाउने लक्ष्य राखेको छ।
चिम्टेश्वर क्षेत्र नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक स्थल हो। यसको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहका सरकारले विभिन्न योजनाहरू अघि सारेका छन्। बागमती प्रदेश सरकारले पाँच करोडको लागतमा भ्यु टावर निर्माण गरेपछि यो क्षेत्र पर्यटकहरूको लागि विशेष आकर्षण बनेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले चिम्टेश्वर मन्दिरसम्म पुग्नका लागि २५ लाखको लागतमा सिँढी निर्माण गरेको छ। साथै, डेढ करोड रुपैयाँको लगानीमा सिमसार पोखरी र पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ। नगरपालिकाले चिम्टेश्वर क्षेत्र विकास समिति ऐन जारी गर्दै यस क्षेत्रको व्यवस्थित विकासका लागि विशेष समिति गठन गरेको छ।
यी प्रयासहरूले चिम्टेश्वरको धार्मिक पर्यटन प्रवर्द्धनमा मात्र नभई स्थानीय आर्थिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन्। वनभोज कार्यक्रमजस्ता गतिविधिहरूले यस क्षेत्रलाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
२०७६ सालमा स्थापना भएको ड्रागन डेरीले नुवाकोटको विभिन्न स्थानबाट दैनिक १५ सय लिटर दुघ र ७० किलो पनिर संकलन गर्दै आएको ड्रागन डेरीका सञ्चालक ढुंगानाले जानकारी दिए ।