लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले लन्डनस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन् ।
शुक्रबार बिहान लन्डन आइपुगेका राजदूत घिमिरे बेलायतको २३ औँ राजदूतको रूपमा बेलायत आएका हुन् । राजदूत घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावासका अधिकारीहरु लन्डनस्थित हिथ्रो विमानस्थल पुगेका थिए ।
उनका साथमा उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरे पनि बेलायत आएकी हुन् ।१७ नोभेम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा घिमिरेलाई संयुक्त अधिराज्य (यूके) का लागि राजदूत नियुक्त गरिएको थियो ।
निजामती सेवामा तीन दशक बढीको अनुभव हासिल गरी सचिव पदबाट अवकाशप्राप्त घिमिरेले व्यापार, पारवहन, उद्योग र लगानीका क्षेत्रमा लामो अनुभव सँगालेका छन् । उनले यसअघि भारतको कोलकाता वाणिज्य दूतावासमा कन्सुलर जनरलको रूपमा पनि सेवा गरेका थिए।
राजदूत घिमिरेले भूपू गोर्खाका मुद्धा समाधान र आर्थिक कूटनीतिलाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । धरानमा जन्मेका घिमिरेले राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि महत्त्वपूर्ण योगदान दिए । आफ्नो करियरमा उनले नीति सुधार र कार्यान्वयन दुवैमा प्रशंसनीय काम गरेका छन् ।
नेपाल सरकारले गत वर्ष ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि तत्कालीन राजदूत ज्ञानचन्द्र आचार्य नेपाल फर्किएपछि लन्डनस्थित नेपाली दूतावास राजदूतविहीन बनेको थियो ।
सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त आचार्यले झन्डै अढाई वर्ष बेलायतको २२ औँ राजदूतको रूपमा काम गरे ।स्रोत:नरेन्द्र बस्नेतबाट लिगेको)