हेटौँडा १८,माघ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताएका छन्।
उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताए। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताका आधारमा काम गरिरहेको बताए।
प्रदेश सरकारको काम सरल र सहज बनाउन ‘जिआई ओएमएस सिस्टम’ जडान भएको उल्लेख गर्दै उनले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयन गर्न अघि बढाइएको उनको भनाइ थियो।
‘विपद्बाट प्रभावित नागरिकका लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको कामलाई तीव्रता दिइएको छ’, उनले भने, ‘प्रदेश राजधानी र सङ्घीय राजधानीसहित प्रदेशअन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणको काम भइरहेको छ। प्रदेश सरकारको आयोजना छनोट व्यवस्थित गर्न आयोजना बैङ्क निर्माण गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी अघि बढाइएको छ।’
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री लामाले बताए। सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश किताबखानालाई सक्रियतापूर्वक कर्मचारीको तथ्यांक अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाले बताउनुभयो।