धादिङ बहुप्राविधिक शिक्षालय, गजुरीद्वारा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा सफलतापूर्वक सम्पन्न भएको छ।
यो प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान वृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्त्वपूर्ण योगदान दिएको छ। प्रतियोगितामा धादिङ जिल्लाका दश ओटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विजयी विद्यालयहरूलाई बधाई दिँदै शिक्षालयले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउदै गजुरी गाउँपालिकाको दुई ओटा बिधालयलाई आवासीय बिधालय बनाउन लागेको समेत बताउनुभयो।
विशिष्ट अतिथि गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारीले पनि हाजिर जवाफ प्रतियोगिताले विद्यार्थीलाई अध्ययनप्रति झन् प्रेरित बनाउने बताउँदै, भविष्यमा अझ उत्कृष्ट कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो।
धादिङ बहुप्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न हाजिर जवाफ प्रतियोगितामा निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, धादिङबेंसी प्रथम भएको छ। विद्यालयका विद्यार्थी सन्ध्या तिमल्सिना, आयुष भण्डारी, र कृति श्रेष्ठलाई पुरस्कार स्वरूप ट्रफी, प्रमाणपत्र, तथा नगद सात हजार एक रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने नेत्रावती डबजोङस्थित महेन्द्र बाराही माध्यमिक विद्यालयका विद्यार्थी आबिनाश बी.के., सुष्मा गुभाजु, र रोशनी तामाङलाई ट्रफी, प्रमाणपत्र, पदक, तथा नगद पाँच हजार रुपैयाँ प्रदान गरियो।
तेस्रो स्थान प्राप्त गर्ने गजुरीस्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी अहिला कुमारी राम, अनिरुद्ध सिंह बस्नेत, र आइन्स्टाइन पाण्डेलाई ट्रफी, प्रमाणपत्र, तथा नगद तीन हजार एक रुपैयाँ वितरण गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रमका सभापतित्वमा धादिङ बहुप्राविधिक शिक्षालयका प्रमुख रविराज भण्डारी,प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,बिशिष्ट अतिथी गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारी लगायत प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी, तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |