काठमाडौं २२,माघ।बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आज सर्वदलीय बैठक आह्वान गरिएको छ।
दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशसभाको भोलि बस्ने बैठकका कामकारबाहीबारे छलफल हुनेछ। विभिन्न चार वटा विधेयकलाई पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो।
प्रदेशसभाको गएको माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा प्रस्तुत गर्ने भनिएका विधेयक अन्तिममा बैठकको कार्यसूचीबाट हटाइएको थियो।
यसैबीच, गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।