महोत्तरीमा वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ २६, शनिबार (१ महिना अघि)
  • १०८ पटक पढिएको

महोत्तरीमा वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

महोत्तरी : महोत्तरीको उत्तरी भेगका वन नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएका छन्। पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो।

गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूह मै पसेका जङ्गली हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास-५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन्। पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ।

बिहीबार रातीमात्र हात्तीले गौशाला-८ ढल्केबरमा पाँचरसातवटा गोठघर भत्काइदिएको छ। गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला-८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बालीमा क्षति पुर्‍याएको छ। जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास-५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन्।

अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर  जाने गरेको गौशाला- ८ ढल्केबरकै मीन रहपाल बताउँछन्।

जङ्गली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन। हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएको थियो। त्यसअघि हात्तीले बर्दिबास-३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन्।

यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो। कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ।

यी जङ्गली हात्ती आफ्नो पुरानो बाटोमै हिड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ। तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीको उपद्रो बढ्ने गरेको छ। हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिँदै आउने गरेको विज्ञ बताउँछन्।(स्रोत:रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस