गजुरी गाउँपालिका वडा नं. १ स्थित चालीसेमा रहेको संघर्षशील युवा समाजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री तारानाथ भण्डारी रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा वडा नं. २ का वडा सदस्य श्री धननाथ सिलवाल, विशेष अतिथिका रूपमा नेकपा माओवादी केन्द्र गजुरी गाउँ पार्टी कमिटीका अध्यक्ष श्री सूर्य बहादुर तामाङ, संघर्षशील युवा समाजका उपाध्यक्ष श्री प्रकाश चन्द्र उप्रेती, नेकपा (माओवादी केन्द्र) गजुरी–१ पार्टी कमिटीका अध्यक्ष श्री प्रताप तामाङ, प्रगतिशील महिला समूहकी अध्यक्ष सुनिता पाण्डे, र सचेत आमा समूहकी अध्यक्ष शोभा अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि श्री तारा भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै समाजको सक्रियता र सामुदायिक एकताको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभएको हो।
विशिष्ट अतिथि श्री धननाथ सिल्वालले चालीसे क्षेत्रका युवाहरूको जागरुकता, सामाजिक उत्तरदायित्वप्रतिको लगाव र सहकार्यको भावना अत्यन्तै प्रेरणादायक भएको बताउँदै, समाजको हरेक सकारात्मक प्रयासमा आफू सधैं साथ र सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो। उहाँले यस्तो किसिमका कार्यक्रमले युवालाई सिर्जनशील र उत्तरदायी बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रम अध्यक्ष श्री रूपक अधिकारीले समाजले स्थापना कालदेखि नै युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समुदायको साथ र सहकार्य नै समाजको बलियो आधार रहेको बताए।
संघर्षशिल युवा समाजका उपाध्यक्ष प्रकाश उप्रेतीले युवाबीच एकता र सहयोगको भावना अझ मजबुत बनाउनुपर्ने कुरामा जोड दिनुभयो।
नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै कार्यक्रममा सहभागीहरूलाई २०८२ सालको क्यालेन्डर वितरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता संघर्षशील युवा समाजका अध्यक्ष श्री रूपक अधिकारीले गर्नुभएको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |