बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला, सर्तक अपनाउन विश्वस्वास्थ्य संगठनको आग्रह


बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला, सर्तक अपनाउन विश्वस्वास्थ्य संगठनको आग्रह

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । सन् २००४ मा पहिलो पटक डेङ्गु देखापरेको हो । त्यसपछि प्रत्येक वर्ष यस रोगका बिरामी बढिरहेका छन् । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी धादिङमा तीन हजार पाँच सय एक र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेङ्गु सङ्क्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिएका छ्न।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?
चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

डेंगु विश्वभरकै समस्या

विश्व स्वास्थ्य संगठनको ( डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ ।
डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् ।

विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस