बेलकोटगढी नगरपालिकाले शिक्षामा सुधारका लागि दीर्घकालीन योजना अघि सारेको छः नगरप्रमुख गुरुङ


बेलकोटगढी नगरपालिकाले शिक्षामा सुधारका लागि दीर्घकालीन योजना अघि सारेको छः नगरप्रमुख गुरुङ

नुवाकोट ।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले विद्यालयहरूको शिक्षास्तर सुधार्न दीर्घकालीन योजनाको खाका तयार गरिएको बताएका छन्।

नुवाकोटका बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा बोल्दै गुरुङले सो कुरा बताएका हुन् ।

उनले नगरवासीको सोच विकसित मुलुकका नागरिकको जस्तो रहेको उल्लेख गर्दै शिक्षा बिना कुनै पनि प्रकारको विकास सम्भव नभएको स्पष्ट पारे। नगरप्रमुख गुरुङले भने, “शिक्षित नागरिकले विकासलाई तीव्र बनाउन सबै तहका निकायलाई झक्झक्याउने भूमिका खेल्नुपर्छ।”

नगरपालिकाले शिक्षा सुधारका लागि विधि र निर्देशिका निर्माण गरी त्यसको कार्यान्वयन गरिरहेको जानकारी उनले दिए। उनका अनुसार यस कदमले नगरभित्रका ५४ विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। “हामी निर्वाचित भएर आउनुअघि शिक्षा राम्रो अवस्थामा थिएन, तर विधि र कानुन बनाएर अघि बढेपछि सुधार भएको छ,” उनले थपे।

उनले विद्यालय भवनहरूको संरचना सुधार गर्नुभन्दा प्रविधि शिक्षाको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले शिक्षाको गुणस्तर वृद्धिका लागि प्रविधि र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना तयार गरिएको जानकारी दिए।

बेलकोटगढी नगरपालिकाले विभिन्न क्षमतावृद्धि कार्यक्रम सञ्चालन गर्दै विद्यालयहरूको स्तर उकास्नका लागि निरन्तर प्रयास गरिरहेको छ। नगरप्रमुख गुरुङका अनुसार, शिक्षाको क्षेत्रमा गरिएको सुधारले नगरवासीको सोच र धारणा अझ उचाइमा पुर्‍याउन सहयोग गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस