जापानका प्रधानमन्त्री फुमियो किशिदाले अर्को पटक प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन्।
जापानमा सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चयन गर्न सेप्टेम्बरमा चुनाव हुँदैछ। दलको नेता चयन हुने व्यक्ति प्रधानमन्त्री बन्नेछन्।बुधबार पत्रकार सम्मेलनमार्फत किशिदाले दलको नेता चयनका लागि हुने चुनावमा आफू नलड्ने घोषणा गरेका हुन्।
उनको घोषणाअनुसार भए आगामी सेप्टेम्बरमा जापानले नयाँ प्रधानमन्त्री पाउनेछ।किशिदाको पार्टी एलडिपी नै दुवै सदनमा ठूलो दल भएकाले उनकै पार्टीबाट नेता बन्ने व्यक्ति सेप्टेम्बरपछि नयाँ प्रधानमन्त्री बन्नेछन्।
किशिदा सन् २०२१ मा तीन वर्षका लागि पार्टीको नेता चुनिएका थिए। यसपालि उनको कार्यकाल समाप्त भएसँगै एलडिपीले नयाँ नेता चुन्न लागेको हो।
आफू नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि किशिदाले केही मन्त्री बर्खास्त समेत गरेका थिए।
उनले पार्टीभित्रका विभिन्न विभागहरू समेत विघटन गरेका छन्। भ्रष्टाचारमा मुछिएकाले किशिदाको पार्टीले २० प्रतिशत सम्म भोट गुमाउन सक्ने बताइएको छ।