वासिङटन : अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो शपथग्रहण समारोहमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आमन्त्रण गरेका छन्।
चीनसँग तनावपूर्ण सम्बन्ध भएका वेला पनि ट्रम्पले सीलाई आफ्नो पदको शपथ ग्रहणमा आमन्त्रण गरेका हुन्। ट्रम्प चीनका कडा विरोधी मानिन्छन्। अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा ट्रम्पको शपथ ग्रहण समारोह सोमवार २० जनवरी २०२५ मा वासिङटनमा हुँदै छ।
ट्रम्पकी भावी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले सीलाई आमन्त्रण गरेको पुष्टि गरेकी छिन्। यद्यपि उनले चिनियाँ राष्ट्रपति सी समारोहमा सहभागी हुने वा नहुने भन्न नसकिने जानकारी दिइन्। अमेरिका र चीन आर्थिक र सामरिक सर्वाधिक प्रतिद्वन्द्वी देश हुन्।
‘फक्स न्यूज’मा एक कार्यक्रममा लेभिटले भनिन्‚ ‘राष्ट्रपति ट्रम्पले अमेरिकाका निकटस्थ सहयोगी मित्रहरूसँग मात्रै होइन विरोधी र प्रतिस्पर्धीसँग पनि खुलेर वार्ता गर्न चाहनुभएको छ।’
उनले भनिन्‚ ‘हामीले उहाँको पहिलो कार्यकालमा यो देखेका थियौँ कि… उहाँ कसैसँग पनि वार्ता गर्न तयार हुनुहुन्छ र अमेरिकी हितलाई सर्वाधिक प्राथमिकतामा राख्नुहुन्छ।’