काठमाडौँ।दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्करबाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको अनुमान गरिएको छ।
प्राकृतिक स्रोतमन्त्री अलेक्जान्डर कोज्लोभले सोमबार टेलिग्राममा ज्वेज्दा च्यानलद्वारा प्रसारि बैठकमा प्रदूषित माटोको मात्रा दुई लाख टनसम्म पुग्नसक्ने बताएका हुन्।
डिसेम्बर १५ मा दुई रूसी तेल ट्याङ्कर भोल्गोनफ्ट–२१२ र भोल्गोनफ्ट–२३९ केर्च स्ट्रेटमा आँधीबेहरीको चपेटामा परेका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।
रूसी अधिकारीहरूका अनुसार जहाजहरूमा नौ हजार दुई सय टन इन्धन तेल थियो र त्यसमध्ये करिब ४० प्रतिशत समुद्रमा पोखिएको हुनसक्छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता यसलाई ‘पर्यावरणीय विपत्ति’ भनेका थिए।
दर्जनौँ किलोमिटरको समुद्र तटमा इन्धन तेल फेला परेको थियो । विशेष गरी अनपाको समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको थियो। स्थानीय अधिकारीहरूद्वारा प्रसारण गरिएका तस्विरहरूका अनुसार संलग्न क्रिमियाको बन्दरगाह शहर केर्चमा पनि यसको किनारमा इन्धन तेल आइपुगेको देखा परेको छ।
क्षेत्रीय गभर्नर भेनियामिन कोन्द्रातयेभले सोमबार प्रकाशित गरेको तस्विरअनुसार सेतो सुरक्षात्मक पहिरनमा स्वयंसेवकहरूले यस क्षेत्रका समुद्र तटहरू सफा गरिरहेका छन्।
‘हिजो राति लगभग सबै कुरा सफा भइसकेको स्वयंसेवकहरूले बताएका छन् तर रातको समयमा छालहरूले फेरि इन्धन तेल जम्मा गरे’, उनले भने। स्वयंसेवकहरूले उपचार गरिरहेका तेल लागेका चराहरूका तस्विर पनि स्थानीय अधिकारीहरूले प्रसारण गरेका छन् ।
तेल चुहावटले १० वटा डल्फिन पनि मरेको हुनसक्ने तर मृत्युको कारण पुष्टि गर्न परीक्षण आवश्यक रहेको विशेषज्ञ डेल्फा केन्द्रले आइतबार बताएको छ ।