नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको छ।
यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि नयाँ नदिने जानकारी दिएको हो।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही गरिनेछ।
दशैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक सोही नोट सटहीको सुविधा दिने छ । यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।
दशैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले नयाँ नोट बन्द गर्न लागेको हो। नोटको आयु सामान्यतया तीनदेखि चार वर्ष हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट छपाइका लागि बर्सेनि एक अर्ब ३० करोड रुपैयाँ खर्च हुँदै आएको छ ।