त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइयो जात्रा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (५ दिन अघि)
  • ५२ पटक पढिएको

त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइयो जात्रा

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सम्पन्न भएको छ।

दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो।

तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त  कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवी विष्णु कुमार श्रेष्ठले बताउनुभयो।

‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो। ‘महाकाली भगवती ललिता त्रिपुरासुन्दरीले महिषासुरको वध गरेको खुसीयालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ श्रेष्ठले बताए।

गुठियार, स्थानीयले  भैँसीले सधैँ दूध दिइरहोस्  र पशुपालन, व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गरिएको हो। ‘खासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ,’ उनले भने।

हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा,पूजा र बली बडादसैको फूलपातीबाट नै सुरु हुने गर्छ। विजयदशमीको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तिन वटा माछा चढाउँछन्।

महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बलि दिइन्छ। दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस