उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (१ महिना अघि)
  • ९५ पटक पढिएको

उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट

काठ्माण्डौँ, २७ कार्तिक।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग र नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गर्नुभएको छ ।भेटका क्रममा मन्त्री भण्डारीले दुई बिचको सम्बन्ध थप बलियो हुने बताउनुभएको छ ।

सन् १९६० मा नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भए देखी मित्रता, सहयोग र आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“अस्ट्रेलिया नेपालका लागि मित्र राष्ट्र र महत्त्वपूर्ण साझेदार हो, नेपाललाई अस्ट्रेलियाबाट विभिन्न सहयोग प्राप्त भएको छ । स्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन जस्ता क्षेत्रहरूमा सहयोग भएको छ ।” उहाँले नेपाललाई अति कम विकसित देशबाट योजनाबद्ध रूपमा स्तरोन्नति गरी सन् २०२६मा विकासशील देश बनाउन र दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई थप सहयोग आवश्यक भएको बताउनुभयो ।

मन्त्री भण्डारीले स्रोत, प्रविधि र साझेदारीका सन्दर्भमा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । अस्ट्रेलिया नेपालको प्रमुख व्यापार साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले दुई देशलाई फाइदा हुने गरी द्विपक्षीय व्यापार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

लगानीका दृष्टिकोणले पनि अस्ट्रेलियाको प्रमुख भूमिका रहेको उहाँको भनाई छ । नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना रहेको बताउँदै उहाँले सूचना प्रविधि, जलविद्युत र कृषिमा आधारित उद्योगमा लगानीका लागि ५० भन्दा बढी देशका लगानीकर्ताहरू सहभागी लगानी सम्मेलनमा आग्रह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“व्यापार र लगानी फ्रेम वर्क सम्झौता (TIFA) दुई देशबिच सन् २०२४ को फेब्रुअरीमा सम्पन्न भएको एउटा सम्झौता हो ।” लगानी र व्यापार प्रवर्द्धनमा सहयोग विस्तार गर्ने मन्त्री भण्डारीको अपेक्षा रहेको छ । यो सम्झौता अनुसार सम्भाव्यता पहिचान गर्न र अभिवृद्धि गर्न सहायक हुने उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले दुई देशबिचको सहकार्यका लागि व्यापार तथा लगानी समितिको पहिलो बैठक आयोजना गर्ने बताउनुभयो । अस्ट्रेलिया उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य भएको उहाँको भनाई छ । अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको सङ्ख्या उत्साहजनक रहेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा अस्ट्रेलियन राजदूत जोन्स्टनले मन्त्री भण्डारीले व्यक्त गर्नुभएको अपेक्षाहरूका विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । नेपाल–अस्ट्रेलिया बिचको आपसी सम्बन्ध र सहकार्य विस्तारको भूमिका निर्वाह गर्ने बताउँदै उहाँले नेपालको विकास निर्माणमा सहकार्यको वातावरण बनाउने बताउनुभयो । उहाँले उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको विचार व्यक्त गर्नुभयो । जोन्स्टन भरखरै मात्रै नेपालका लागि राजदूत नियुक्त भएर आउनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस