जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक:मन्त्री ठकुरी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर ६, बिहिबार (५ घण्टा अघि)
  • ३१ पटक पढिएको

जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक:मन्त्री ठकुरी

काठमाडौँ ।जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बताएका छन् ।

विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले भने, ‘उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव, र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेका छन् । जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक छन् । यसमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ ।’

नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीर रूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदीहरू द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उनले बताए । साथै, पछिल्लो समय देखा परेको जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावले गर्दा विशेष गरी ग्रामीण जनजीवन र जैविक विविधता नै संकटमा परेको र वनस्पति तथा जीवजन्तुका प्रजातिहरू पनि जोखिममा परेको मन्त्री ठकुरीले बताए ।

३ दिने एशिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलनमा २३ देशका विज्ञहरुको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा बहस र छलफल भएको थियो।

साथै, मन्त्री ठकुरीले सम्मेलनले नीतिनिर्माण, प्राविधिक समाधान, र क्षेत्रीय सहकार्यका लागि नवीनतम दृष्टिकोण प्रस्तुत गरेको बताउँदै नेपाल जस्ता हिमाली देशहरूका लागि छलफलबाट आएको निष्कर्ष फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

सम्मेलनमा उपस्थित सहभागिहरुले पनि छलफलले सामूहिक सोच र अनुभवको आदानप्रदानलाई सम्भव बनाएको र सुशासन प्रणालीलाई जलवायु परिवर्तनसँग अनुकूलित गर्न थप प्रेरणा दिएको बताए । उक्त सम्मेलनबाट आएका विचारहरू नेपालका लागि मात्र नभएर सम्पूर्ण एशिया प्यासिफिक क्षेत्रका लागि प्रेरणादायी हुनेमा आफूहरु विश्वस्त रहेको आयोजकको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस