चितवन ११ पौष ।चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको छ।
आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । १८औं संस्करणको उद्घाटन उप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्घाटन गर्ने भनिए पनि राष्ट्रपति नआउने जानकारी आएकोले सहरी विकास मन्त्री सिंहलाई कार्यक्रम उद्घाटनका लागि निम्ता गरिएको संयोजक अर्यालले बताए ।
हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । यहाँका होटलहरुले महोत्सवका अवसरमा पर्यटकहरुलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएको जनाएका छन् ।
हात्तीसँग जोडिएका विभिन्न खेल सम्वन्धी गतिविधीहरु सौराहामा अन्य समयमा नहुने र हात्ती महोत्सवको बेलामा मात्रै हुने हुँदा पर्यटकहरु आँखैबाट यस्ता दृश्य निकाल्न आउने अपेक्षा गरिएको गिरीले बताए ।
हात्ती महोत्सवमा निजी तथा सरकारी गरी ८० भन्दा बढी हात्ती सहभागी हुनेछन् । सौराहामा ६० वटा निजी हात्ती छन् । हात्ती वनभोज कार्यक्रमा सबै हात्तीलाई सहभागी गराइनेछ । यसपटक हात्ती महोत्सवमा हात्ती पोलो खेल समावेश गराइएको भए पनि केही पशु अधिकारकर्मीका नाममा विरोध भएपछि त्यसलाई हटाइएको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरले जानकारी दिए ।
उनका अनुसार चितवन र टाइगर टप्सलाई चिनाउने हात्ती पोलो खेललाई सौराहामा पुर्नजीवित गर्न खोज्दा विरोध भएपछि हटाइएको हो । मेघौली र टाइगर टप्स होटललाई चिनाउने हात्ती पोलो खेल चितवनमा जिवित राख्न खोज्दा विरोध गर्नु असान्दर्भिक भएको उनको तर्क छ ।