काठमाडौं।सूर्यदर्शन सहकारी ठगी लगायतका अभियोगमा बयान दिन बिहीबार अदालतमा उपस्थित गराइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजलासमा उभिएर भने, ‘जीबी राईलाई सोध्नुपर्ने प्रश्नको जवाफ म कसरी दिऊँ, श्रीमान् ?’
सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा बयानका लागि लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतको इजलासमा उपस्थित गराइएको थियो । अदालत स्रोतका अनुसार रविलाई सोध्नका लागि २६ वटा प्रश्न तयार पारिएका छन् । बिहीबार ११ वटा प्रश्न सोधियो । तिनैमध्येका एक प्रश्नको जवाफ दिँदै यस्तो इन्कारी बयान दिएका हुन् ।
स्रोतका अनुसार स्वास्थ्य अवस्थाबारेको चासोबाट प्रश्नको क्रम सुरु भएको थियो। त्यसपछि सूर्यदर्शन सहकारीमा शेयर सदस्य हो कि होइन ? ऋण लिएर मिलान गरेको हो कि होइन ? सहकारीको पैसा समूह मिलेर गोर्खा मिडियामार्फत अपचलन गरेको हो कि होइन ? संगठित रूपमा जीबी राईसँग संलग्नता हो कि होइनजस्ता प्रश्न उनलाई सोधिए ।
सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ ऋण लिएको र काटिएको चेकबारे पनि उनलाई प्रश्न सोधिएको एक अधिवक्ताले जानकारी दिए ।
सूर्यदर्शन सहकारीबाट आफूले कुनै ऋण नलिएको, मिलान नगरेको, कुनै चेक पनि नकाटेको र सहकारीको पैसा ल्याउन समूह मिलेर कुनै सहमति, सम्झौता पनि नभएकाले संगठित अपराधको मुद्दा लगाउने आधारसमेत नभएको रविको भनाइ थियो ।
नयाँ पार्टीको घाँटी निमोठ्न तथा आफूलाई फसाएर सिध्याउनकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको जवाफ रविले दिएको ती अधिवक्ताले बताए । अदालतमा दायर गरिएका सबै अभियोजन झुठो र असत्य भएको उनले जिकिर गरे।