सिमकोट : हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च भेगमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ।
शुक्रबार दिउँसो घाम नलागेर मौसममा फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। यतिवेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने भन्दै किसान खुशी छन्।
यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ।
हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ। यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो।