काठमाडौँ । समाज डेन्टल अस्पतालको प्राबिधिक सहयोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ डाँछी स्थित अल्पाइन एकेडमीमा आयोजित नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ७ सयभन्दा बढी विद्यार्थी, अभिभावक, र शिक्षकहरूले दन्त परीक्षण र परामर्श सेवा प्राप्त गरेको कार्यक्रमका संयोजक विदुर गिरिले जानकारी दिए ।
शिविरका क्रममा सहभागीहरूले दन्त परीक्षण, रोग निदान, परामर्श, र नि:शुल्क औषधि, मन्जन, तथा ब्रस प्राप्त गरेका थिए। आयोजकका अनुसार यो अभियानले समुदायमा दन्त स्वास्थ्यप्रतिको चेतना फैलाउन र आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन विशेष योगदान पुर्याएको छ।
संयोजक गिरीले यस्ता सेवामूलक अभियानलाई भविष्यमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै विद्यालयका प्रधानध्यापक अनन्तराम ढकालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै यो अभियान विद्यालय र समुदायका लागि प्रेरणादायक रहेको बताए।
शिविरलाई प्राविधिक सहयोगदाताहरू र स्वयंसेवकहरूको सक्रिय योगदानले अझ प्रभावकारी बनाएको थियो। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने यो प्रयासले ग्रामीण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यस अभियानले विद्यालय र स्थानीय समुदायलाई दन्त स्वास्थ्यप्रतिको जानकारी प्रदान गर्दै, दीर्घकालीन स्वास्थ्य सुधारका लागि मार्गप्रशस्त गरेको छ।