काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको सहकार्य र नेपाल आर्मीको राष्ट्रिय विपद् व्यवस्थापन प्रशिक्षालयको प्राविधिक सहयोगमा नेपाल स्काउटका रोभर रेन्जरहरूका लागि विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। यो तालिम गोकर्णेश्वर नगर स्काउटको पहलमा आयोजना गरिएको थियो।
तालिमले प्राकृतिक प्रकोप, मानव निर्मित संकट तथा आकस्मिक परिस्थितिहरूमा राहत र उद्दार कार्यका लागि सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको थियो। गोकर्णेश्वर नगरपालिकाका विकट र संवेदनशील क्षेत्रहरूमा बाढी, पहिरो, आगलागी, र सडक दुर्घटनाजस्ता विपद्का घटनामा तत्काल उद्दार तथा राहत कार्यका लागि दक्ष स्वयंसेवकहरूको आवश्यकता महसुस गरी यो कार्यक्रम सञ्चालन गरिएको हो।
पाँच दिनसम्म चलेको तालिममा सहभागीहरूले भूकम्प, बाढी, पहिरो लगायतका विपद्का जोखिम मूल्याङ्कन, आकस्मिक उद्दार र प्राथमिक उपचार, आगलागी व्यवस्थापन, र समुदाय सचेतना अभिवृद्धिका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गरेका थिए। नेपाल आर्मीका प्रशिक्षकहरूको मार्गदर्शनमा उनीहरूले विपद्को सामना गर्न आवश्यक उपकरणहरूको प्रयोगसम्बन्धी अनुभव समेत हासिल गरेका थिए।
कार्यक्रममा ३० भन्दा बढी रोभर रेन्जरले सहभागिता जनाएका थिए। सहभागीहरूमध्ये सुसुप्ती रायमाझीले भनिन्, “यो तालिमले मलाई विपद् व्यवस्थापनको वास्तविक महत्त्व बुझ्न सहयोग गर्यो। अब म आपतकालीन अवस्थामा समुदायलाई सहयोग गर्न सक्षम छु।” अर्को सहभागी दिनेश लामाले यस तालिमले आत्मविश्वास अभिवृद्धि गरेको र आगामी दिनमा यस्ता कार्यक्रम थप आवश्यक रहेको बताए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले तालिमको समापन समारोहमा युवाहरूको सक्रिय सहभागिता प्रशंसनीय भएको उल्लेख गरे। उनले भने, “यो तालिमले हाम्रो नगरका युवाहरूलाई विपद्को सामना गर्न सक्षम बनाएको छ, जसले भविष्यमा जनधनको क्षति न्यूनीकरणमा मद्दत पुर्याउनेछ।”
तालिमका संयोजक कृष्ण श्रेष्ठका अनुसार, सहभागी युवाहरूलाई नगरस्तरीय विपद् व्यवस्थापन टोलीमा समेट्ने योजना अघि सारिएको छ। गोकर्णेश्वर नगरपालिकाले विपद् व्यवस्थापनमा थप स्रोतसाधन जुटाउने र युवाहरूको सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यो तालिमले नेपाल स्काउटका रोभर रेन्जरहरूलाई विपद् व्यवस्थापनमा दक्षतासँगै समाजमा थप योगदान पुर्याउने अवसर प्रदान गरेको छ।