नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमाले कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताएका छन् ।
जम्कट्टेलले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने, सरकारी जग्गा हडप्ने, सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई जोगाउने कार्यमा लागेको भन्दै कडा आलोचना गरेका हुन्।वर्तमान सरकारका साझेदारहरू गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतङ्कित बनिरहेको पनि बताए ।
सरकार अध्यादेश मार्फत मुलुक चलाउने प्रयास गरिरहेको बताउँदै सहकारी अध्यादेशलाई बदनियतपूर्ण भनेका छन्। उनले गिरिबन्धु टी स्टेटको सरकारी जग्गा व्यक्तिको बनाउने निर्णयको समेत आलोचना गर्दै यसबारे छानबिन हुनुपर्ने माग गरे।
उनका अनुसार, प्रदेशका केही मन्त्री र सांसदहरू सहकारी ठगीमा संलग्न हुँदा पनि सरकार मौन बसेको छ। उनले आम नागरिकप्रति सरकार उदार नभएको र देश आन्दोलनको दिशामा गइरहेको बताएका छन्।