टोकियो । जापानको टोकियो स्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलले शाखा विस्तार गरेको छ । विद्यालयमा विद्यार्थीको चाप बढेसँगै स्कुलले शाखा विस्तार गरेको हो ।
एभरेष्ट इन्टरनेशनल स्कुलले नयाँ शाखा टोकियो कै आराकावामा खोलेको हो । उक्त शाखामा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालय सञ्चालक समितिका संस्थापक अध्यक्ष डा. भुपालमान श्रेष्ठले अनलाइन खबरलाई जानकारी दिए । विद्यालयले आगामी शैक्षिक सत्र अप्रिलदेखि पठनपाठन सुरु गर्ने श्रेष्ठ बताउँछन् ।
टोकियोको आराकावा कु नर्सरी, केजी, युकेजी (किन्डरगार्टेन अर्थात् ३ देखि ६ वर्ष उमेरसमूह) का बालबालिकाका लागि टोकियोमा नै सबैभन्दा बढी अनुदान पाउने कु मा पर्छ । उक्त अनुदान पाउने प्रक्रियामा विद्यालय गइसकेको विद्यालयका प्रधानाध्यापक विष्णु भट्टले जानकारी दिए ।
‘यो अनुदान पाउनका लागि ६ देखि ८ महिनासम्म लाग्न सक्छ । अनुदान पाइसकेपछि विद्यार्थीको मासिक शुल्क अनुदानले परिपूर्ति गर्नेछ’ प्रधानाध्यापक भट्ट भन्छन्, ‘अनुदान नपाउनजेलसम्मका लागि नर्सरी, केजी, युकेजीको मासिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था विद्यालयले गरेको छ ।’ कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुको शुल्कमा पनि विशेष छुटको व्यवस्थासहित भर्ना शुल्कमा ५० प्रतिशत छुट गरिने प्रधानाध्यापक भट्टले जानकारी दिए ।
विद्यालयले तीन तले भवन भाडामा लिएर कक्षा सञ्चालनमा ल्याएको हो । उक्त भवन २ सय जना विद्यार्थी क्षमताको रहेको छ । जापानको टोकियोमा नेपाली विद्यार्थीको चाप बढेसँगै एभरेष्ट इन्टरनेशनल स्कुलमा भर्ना हुन चाहाने विद्यार्थी पनि बढेकाले विद्यालयले शाखा विस्तार गरेको जनाएको छ ।
आराकावा क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । आराकावा बाहिरबाट जाने विद्यार्थीहरुका लागि बसको समेत ब्यवस्था गरिने स्कुल प्रशासनले जनाएको छ । साथै माछिया स्टेशनबाट १० मिनेट पैदलमा स्कुल पुग्न सकिने भएकाले ट्रेनमा यात्रा गर्ने विद्यार्थीलाई पनि सहज हुने विद्यालयका प्रधानाध्यापक भट्ट बताउँछन् ।
एभरेष्ट इन्टरनेशनल स्कुलको हाल ओकुबोमा किन्डरगार्टेन (एभरेष्ट किड्स), आशागायामा कक्षा १ देखि कक्षा ३ सम्म र ओगिकुबोमा कक्षा ४ देखि १२ कक्षासम्म पढाइ भइरहेको छ ।
सन् २०१३ बाट टोकियोमा सञ्चालनमा आएको एभरेष्ट स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपालबाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो । विद्यालयमा नेपाली पाठ्यक्रम अनुसार अध्ययन गर्न नेपालीसँगैै जापानी, इन्डियन र जाम्बियाका विद्यार्थी पनि आउने गरेका छन् ।