धादिङ – त्रिपुरासुन्दरी गाउँपालिका, पशु सेवा कार्यालय धादिङ, र त्रिपुरेश्वर भैंसीपालन प्रवर्द्धन कृषक समूह त्रिपुरासुन्दरी–०७ बीच ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार त्रिपुरासुन्दरी गाउँपालिका-०७ मा भैंसीपालनलाई प्राथमिक कृषि उत्पादनको रूपमा विकास गरिनेछ। कार्यक्रमको उद्देश्य स्थानीय उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै, कृषकहरूको जीवनस्तर उकास्ने र आत्मनिर्भर बनाउने रहेको छ।
पशु सेवा कार्यालय धादिङले कार्यक्रमको प्राविधिक सहयोग तथा स्रोत सामग्रीको व्यवस्थापन गर्नेछ भने कृषक समूहले कार्यक्रमको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
यस अवसरमा त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिधिहरू, पशु सेवा कार्यालयका प्राविधिककर्मी तथा कृषक समूहका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले स्थानीयस्तरमा रोजगारी सृजना, दुध उत्पादन वृद्धि तथा बजार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिकाले कार्यक्रमको सफल कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |