धादिङ।बेनिघाट रोराङ गाउँपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न श्रोत संकलन गर्ने उद्देश्यले गाउँपालिकाले सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आगामी माघ १७ गते देखि २३ गतेसम्म बेनिघाटको वडा नम्बर ७ स्थित चरौँदी खेलमैदानमा आयोजना हुँदैछ ।
प्रसिद्ध कथावाचिका राधिका दासीले ज्ञानमहायज्ञमा कथा बाचन गर्नुहुनेछ । यो महायज्ञबाट संकलित रकमलाई आवासिय विद्यालयका लागि शैक्षिक कोष खडा गरिने र विपन्न तथा असहाय विद्यार्थीको निशुल्क शिक्षामा लगानी गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष विवेकले हाम्रो दैनिकलाई बताउनुभयो।
यस गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे,वडा न. ७ का वडा अध्यक्ष कुमार बस्नेत लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका गाउँपालिका अध्यक्ष विवेकले गाउँपालिकाभित्रका सवै बालबालिकाको शिक्षा नि:शुल्क गर्ने उद्धेश्यले काम गरिरहेका छन् ।
पालिका अध्यक्षले निर्वाचित लगत्तै शैक्षिक आवासिय विद्यालय निर्माण गरेर २ सय ७० जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्थापन मिलाएका छ्न्।
आफ्नो कार्यकाल भरि गाउँपालिकाका सवै विद्यार्थीहरुको निशुल्क अध्ययनका लागि आफुले पहल गरिरहेको अध्यक्ष विवेक बताउँछन् ।
गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने मुख्य उदेश्यले आयोजना गरिएको महायज्ञ सफल बनाउन गाउँपालिकाले सवैलाई अनुरोध गरको छ ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |