काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले एक भव्य कार्यक्रमको आयोजना गरी अभिभावक अभिमुखिकरण, प्री-स्कुल दीक्षान्त समारोह तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
मुलपानीस्थित ड्रिम गार्डेन प्यालेसमा आयोजित यस विशेष कार्यक्रम विद्यालयमा अध्ययनरत बालबालिकाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य महेन्द्रराज घिमिरेले गरेका थिए । उनले विद्यालयको शैक्षिक दृष्टिकोण, बालमैत्री वातावरण र समग्र बाल विकासमा केन्द्रित गतिविधिहरूको उल्लेख गर्दै विद्यालयले बालकहरूलाई आत्मनिर्भर, अनुशासित र सिर्जनशील बनाउने दिशामा निरन्तर लागिरहेको जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले सम्पूर्ण अभिभावकलाई स्वागत गर्दै विद्यालय र अभिभावकबिचको सहकार्यलाई अझ मजबुत बनाउन आग्रह गरे ।
कार्यक्रममा इनोभेटिभ एजुकेशन फाउण्डेशनकी निर्देशक चन्द्रा लिम्बुले प्रमुख वक्ताका रूपमा उपस्थित भइ बालबालिकाको भावनात्मक, सामाजिक र शैक्षिक विकासमा परिवार र विद्यालयको संयुक्त प्रयास अपरिहार्य रहेको धारणा राखिन् । उनले मनोवैज्ञानिक विकास, व्यवहार व्यवस्थापन, सकारात्मक अनुशासन र बच्चासँगको संप्रेषण सीपका विविध पक्षहरूमा अभिभावकसँग अन्तरक्रिया गरिन् । साथै, डिजिटल युगमा अभिभावकको भूमिकाबारे समेत प्रकाश पारे ।
सांस्कृतिक कार्यक्रममा बालबालिकाहरूले आकर्षक नृत्य, गायन र अभिनय प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थीहरूले गरेका थिए, जसले उनीहरूको आत्मविश्वास र सार्वजनिक प्रस्तुति कौशललाई उजागर गर्यो। कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकाको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै विद्यालयप्रति आभार व्यक्त गरे।
प्री-स्कुल दीक्षान्त समारोहको अवसरमा यूकेजी तहका विद्यार्थीहरूलाई अभिभावकहरूको उपस्थितिमा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बाल गीतान्जली स्काउट ट्रुपका स्काउट र विद्यालयका शिक्षक–शिक्षिकाहरूले स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। स्काउट प्रशिक्षक विदुर गिरिले सो जानकारी दिइन्
कार्यक्रमको समापनमा विद्यालयकी शिक्षिका सीमा रजकले उक्त कार्यक्रमलाई बालमैत्री शिक्षण पद्धति र समावेशी शिक्षाको सन्देश बोकेको प्रेरणादायी प्रयासको रूपमा प्रस्तुत गर्दै सबै सहयोगीप्रति आभार प्रकट गरिन्र
उक्त कार्यक्रमले बालबालिकाको सशक्तिकरण, अभिभावकको संलग्नता र समग्र शैक्षिक वातावरण सुदृढ पार्न महत्वपूर्ण योगदान दिएको विद्यालय पक्षको विश्वास छ।