धादिङ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी अभियान कार्यक्रमअनुसार सो कार्यक्रम गर्ने तय भएको माओवादीले जनाएको छ ।
पार्टी केन्द्रीय समितिको निर्णयअनुसार हालै बसेको कार्यालय बैठकले मिति तय गरेको र सो अभियान हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित भएर गरिने माओवादीका एक पदाधिकारीले बताए ।
यसको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूसँगको परामर्शका आधारमा तय गरिने ती नेताको भनाइ छ । यस्तै फागुन महिनामा शैक्षिक संस्था केन्द्रित युवा विद्यार्थीसँग माओवादी अभियान समेत सञ्चालन गरिने तय भएको छ । यससम्बन्धी ठोस कार्यक्रम पनि सम्बन्धित प्रदेश कार्यालयहरूले तय गरी कार्यान्वयन गर्ने माओवादीको भनाइ छ ।